अन्तरवार्ता ।
बिगत १५ बर्षदेखी नेपाल रेडक्रस सोसाईटी सामुदायिक आँखा उपचार केन्द्रमा आँखा प्राविधिको रुपमा कार्यरत रहि दैलेखी जनतालाई सन्तोषजनक सेवा दिई सँधै जिल्लावासीहरुको सम्मान पाईरहनुभएका र हाल अाँखा उपचार केन्द्रका प्रमुखको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रकाश शाहीसँग जिल्लामा आँखा उपचारको लागि भएका प्रयास र आँखा उपचार केन्द्र स्थापना कालदेखी हालसम्म भोगेको तीता मिठा अनुभवहरु सँगै आँखा जीवनको कती महत्वपूर्ण बस्तु हो र यसलाई कसरी सुरक्षीत राख्न सकिन्छ भन्ने बारे धमाका दैनिकका सम्पादक बिष्णु शर्माले गरेको कुराकानीको महत्वपूर्ण अंश आजको अन्तरवार्तामा प्रस्तुत गरेका छौं ।
दैलेखमा आँखा उपचार सेवाको स्थापना कहिले र कसरी भयो ?
तत्कालिन नेपाल नेत्रज्योती संघ स्वीस रेडक्रस र नेपाल रेडक्रस दैलेखको सयुक्त सहभागितामा वि.सं. २०४७ सालमा अन्धोपन निवारण गर्ने उद्देश्यले यसको स्थापना भएको हो ।
स्थापना त भयो तर हाल यसको संचालन अवस्था कस्तो छ ? आर्थिक कसरी जोहो गर्नुभएको छ ।
सुरुवातको दिनमा त केही सामान्य सहयोगहरु भए, जिल्लाका लागि निकै आवश्यकता समेत बनेको आँखाको उपचार सेवाको लागि सन् २००१ सम्म स्वीस रेडक्रसको पूर्ण आर्थिक सहयोगमा संचालित सामुदायिक आँखा उपचार केन्द्र हाल क्रमस सहयोग कटौती भई स्थानीय स्रोत साधनको परिचालन गरि आफै चलाउ भन्ने अवस्थामा रहेको छ । यसको आफ्नो छुट्टै कुनै स्रोत नभएकोले समेत समस्या उत्पन्न भएपछि जिल्ला बिकास, गाविस, तथा अन्य सरोकारवाला निकायसँग केन्द्र संचालनका लागि समन्वय भइरहेको छ । साथै सामुदायिक आँखा उपचार केन्द्रलाई आत्मनिर्भर बनाउँदै लैजाने उद्देश्यअनुरुप नमदर्ता शुल्क, बजार मुल्यमा आँखाको औषधी वितरण, सानो अप्रेशन तथा विभिन्न पावरका चश्मा जाँच गरि यस केन्द्रबाट उपलब्ध गराईने भएकोले आर्थिक रुपमा सामान्य कोष जम्मा हुँदै गएको छ । हाल केन्द्रमा तीनजना जनशक्ति रहेका छौं ।
जनताहरुलाई कस्ता खालका सेवा सुविधाहरु प्रदान गर्नुभएको छ ?
यस केन्द्रबाट २ किसिमबाट सेवा प्रदान गर्दै आएका छौं , नियमित क्लिनिकल सेवा र वाह्य कार्यक्रम । नियमित सेवा अन्तरग दैनिक आँखा उपचार गरिन्छ र वाह्य कार्यक्रम अन्र्तगत बर्षेनी मोनिविन्दु अप्रेशन शिविर, जनचेतना मूलक कार्यक्रम, शिक्षक र स्वास्थ्यकर्मीलाई आधारभूत प्राथमिक आँखा उपचार तालिम समेत प्रदान गरिन्छ । साथै आँखाका जटिल रोगहरुलाई रिफर गर्ने व्यावस्थाका साथै सहुलियतमा आँखा अप्रेशनका लागि आँखा अस्पताल पठाईन्छ । यसका साथै विगत तीन बर्षदेखी कान सम्वन्धि विभिन्न रोगहरुको समेत उपचार गर्दै स्थानीय जिल्लावासीहरुलाई निरन्तर सेवा प्रदान गर्दै आएका छौं । हामीले दिएको सेवाबाट धेरै मानिसहरुले सहजै र सुलभ सेवा पाईरहेका छन् ।
आँखा अन्धो वनाउने प्रमुख कस्ता रोगहरु हुन्छन् ? जानकारी गराइदिनुहोस न ?
निकै सान्र्दभक प्रश्न गर्नुभो यसको लागि धन्यवाद । नेपालमा सन् १९८१मा गरिएको राष्ट्रिय अन्धोपन सर्वेक्षण अनुसार ७१ प्रतिशत मोतिबिन्दु रोगले गर्दा आँखा अन्धो भएको पाईएको थियो । यो रोग उपचार समयमा भएमा पूर्ण रुपमा आँखाको ज्योती फर्काउन सकिन्छ । यो रोगको अप्रेशन प्रविधि सरल छ आँखा अप्रेसन गरि लेन्स प्रत्यारोपण गर्न सकिन्छ ।
यो बाहेक जलविन्दु , टूकोमा र आँखामा हुने आकस्मिक चोटपटकले पनि आँखा अन्धो बनाउन सक्छ । सम्भव भएसम्म ४० बर्ष उमेर पुगिसकेका व्यक्तिले प्रत्येक ६ । ६ महिनामा आँखा जाँच गर्नु अनिवार्य हुन्छ । त्यसकै लागि हामिले दुर्गमका स्थानीयहरुको सेवा र सुविधालाई मध्यनजर गरि यही पौष ९ गतेदेखी ११ गतेसम्म नौमूलेमा मोतिबिन्दु अप्रेशन शिविर पनि संचालन हुने तयारी भएकोले यसै मार्फत आ आफ्ना आफन्तहरुलाई खवर गरि मौकाको फाइदा लिन पनि अनुरोध गर्दछु ।
अन्तमा केन्द्रका बारेमा केही कुरा बताउन चाहानुहुन्छ ?
आँखा हाम्रो शरिरको निकै महत्वपूर्ण अंग हो । यो संसारका सवै गतिविधि हेरी रहेका र निहाली रहेका आम मानिसहरुले एक मिनेट आफ्नो आँखा चिम्म गरेर हेरौत त कस्तो महसुस हुन्छ त्यसैले यसरी संसार देखाउने आँखाको संरक्षण गर्नु तपाँई हाम्रो पहिलो प्राथमिकता हुन आउँछ । यती संवेदनशिल अंगको हामीले समय समयमा सुरक्षाका बारेमा जानकारी लिइरहनुपर्ने र समय समयामा आँखा जाँच अनिवार्य रुपमा गराउनुपर्दछ । आँखा बिनाको जीवन विना गोरेटोको एक्ले जीवन हुने भएकोले यो केन्द्रको संरक्षण र सहज उपचारतर्फ लाग्नु जिल्लावासीहरुको समेत प्रमुख दायित्व हुन आउँछ ।
हालसम्म विदेशीले दान दिएको भरमा रेडक्रस आँखा उपचार केन्द्र संचालन हुँदै आउकोमा अव स्थानीय जनता र सरोकारवाला निकायले एकमात्र जिल्लाको सामुदायिक आँखा सपचार केन्द्रलाई कसरी स्थायी रुपमा बढी भन्दा बढी सेवा सुविधाका लागि संचालनमा ल्याउन सकिन्छ भन्ने बारे सम्वन्धित राजनीतिक दल, स्थानीय निकाय, नागरिक समाज, अग्रजहरु, पत्रकार सवैले यसलाई कसरी संचालन गर्नेवारे सोच्न जरुरी छ ।
यसलाई सबैले समयमै संवेदनसील भएर लाग्नुपर्ने देखिएको छ ।
हामीले सबैलाई सहयोगका हातहरु थापिरहेका छौं । सुविधा हामी दिन्छौं तर यसलाई दिगो रुपमा संचालनका लागि सहयोग गर्ने जिम्म आम जिल्लाबासिहरुको पनि रहेको छ ।







